रुडीका बाढीपहिरो पीडितलाई खाद्यान सामाग्री वितरण

क्याप्सन ः स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष भरतबहादुर रोकाया र साइन नेपालको अध्यक्ष भक्तराज जोशी रुडीका बाढीपहिरो पीडितलाई राहत वितरण गर्दै । तस्बिर ः सुदूरपाटी

शेरबहादुर सार्की
बाजुरा , चैत ४ गते । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका वडा नं –२ रुडीमा बाढीपहिरो पीडितलाई खाद्यान समाग्री वितरण गरेको छ ।

गत असोज १९ देखि २३ गते सम्म बाजुरामा लगातार परेको अविरल वर्षातका कारण स्वामिकार्तिक खापर गाउँपालिका वडा नं –२ रुडीका १७३ घरपरिवार बाढीपहिरोबाट प्रभावित भएका थिए ।

ती प्रभावित परिवारलाई अहिले गाउँपालिकाको समन्वय तथा साईन नेपाल धनगढीको आर्थिक सहयोगबाट खाद्यान समाग्री वितरण गरेको हो ।

वर्खाको पहिरो र हिउँदमा खडेरी परेका कारण घरमा खाने कुराको समस्या भएको बेला साईन नेपाल धनगढीले घरमै आएर चामल , नुन , तेल र दाल दिएपछि केही दिनका लागि छाक टार्न निकै सहज भएको स्वामिकार्तिक खापर गाउँपालिका –२ रुडी की स्थानीय गौरी विकले बताउँनुभयो ।

उहाँले भन्नुभयो, “ गाउँपालिकाको पहलमा जसरी पटक पटक गाँसको सहयोग हुन्थ्यो । त्यसरी स्थायीरुपमा बासको व्यववस्था भए ज्यान जोगाउँन निकै सहज हुन्थ्यो ।”

गाउँपालिकाले हाम्रो यो पीडामा केही मलम हुने गरी अहिले विभिन्न सङ्घसंस्था सँग सहकारी गर्दै खाद्यान्न उपलब्ध गराइएपछि यती बेला भोको पेट पाल्न सहज भएको विकले बताउनुभयो ।

गाउँपालिकाले बाढिपहिरोबाट प्रभावित भएका घरपरिवारको डाटा दिएसँगै अहिले रुडीका १७३ घरपरिवारलाई चामल दाल नुन तेल लगायतको खाद्यान सामाग्री वितरण गरेको साईन नेपाल धनगढीका अध्यक्ष भक्तराज जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ यो संस्थाले आगलागि बाढिपहिरो महामारी लगायतका विभिन्न दैवि प्रकोपबाट प्रभावित भएकाहरुलाई सहयोग गर्दै आएकाले यती बेला रुडीका स्थानीयलाई पनि खाद्यान सामाग्री वितरण गरेको हो । ”

यो भन्दा पहिला बाजुराको बडिमालिका , त्रिवेणी बुढीगङ्गा लगायतका विभिन्न स्थानीय तहमा कोरोना तथा बाढीपहिरोबाट प्रभावित भएकाहरुलाई खाद्यान लुगा कपडा वितरण गरेको मानवीय सेवामा अनेकौ प्रयास (साइन) नेपाल धनगढीका अध्यक्ष जोशीले बताउनुभयो ।

गत वर्खामा आएको बाढीपहिरोका कारण यहाँका अधिकाशं स्थानीय निकै प्रभावित भएकोले उहाँहरुलाई केही सहज हुने गरी गाउँपालिकाले विभिन्न संस्थासँग समन्वय गर्दै राहत दिने काम गरिरहेको स्वामिकार्तिक गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्