बाजुराका स्थानीयको अम्रिसो खेतीमा आकर्षण बढ्दो

क्याप्सन ः बसन्त बालमैनत्री आधारभूत विद्यालयका शिक्षक बहादुर थापा अम्रिसोको कुचो बनाउँदै । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा

शेरबहादुर सार्की
बाजुरा , चैत ६ गते । बाजुराका अधिकाशं स्थानीयको पछिल्लो समय अम्रिसो खेतीमा आकर्षण बढ्दै गएको छ ।

गाई भैसीलाई खुवाउँन र त्यसको कुचो बिक्री गर्दा राम्रो कमाइ हुन थालेपछि पछिल्लो समय यहाँका स्थानीयको अम्रिसो खेतीमा आकर्षण बढ्दै गएको हो ।

गाई भैसीका लागि पातको घाँस आहार हुने र त्यसको फुलको कुचो बनाएर बिक्री गर्न सकिने हुँदा अम्रिसो खेती सुरु गरेको बुढीगङ्गा नगरपालिका वडा नं –२ बसन्त बालमैन्त्री आधारभूत विद्यालयका प्राधानाध्यापक बहादुर थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले विद्यालय तथा कन्र्सनको वरिपरी गरेको अम्रिसो खेतीले वातावरण स्वच्छ पार्नुका साथै त्यो बिक्रीबाट केही आम्दानी पनि हुने गरेको छ ।”

अहिले अम्रिसोको पाललाई घाँसको रुपमा र त्यसको फुललाई कुचो बनाएर बिक्री गर्ने गरेको प्राधानाध्यापक थापाले बताउनुभयो ।

बाजुुराको बडिमालिका , गौमुल र बुढीगङ्गा नगरपालिकाका अधिकाशं ठाउँमा पछिल्लो समय अम्रिसो लगाउँने गरेको पाईन्छ ।

यसले घाँस र कुचोको रुपमा प्रयोग नभइ भिरालो ठाउँमा लगाउँदा जमिनमा पहिरो लाग्न समेत रोक्ने काम गर्दछ । धेरै मेहनेत गर्नु नपर्ने यो अम्रिसो बाजुराका विभिन्न ठाउँमा निकै राम्रो हुने गर्दछ ।

बाजुराका विभिन्न भिरमा पानीको पहरामा हुने अम्रिसोलाई पनि पछिल्लो समय यहाँका किसानले गाउँ घरमा लगाउँने गरेका छन् । अम्रिसोको घाँसले गाई भैसीको दुधलाई बढाउँछ भन्ने पुरानो किम्वदन्ती रहेको छ ।

सबै भन्दा पहिला बडिमालिका नगरपालिका पुर्व मेयर पदम बडुवालले बाजुरामा अम्रिसोको कुचो बनाएर मार्तडीमा बिक्री गर्न सुरु गुर्न भएको हो ।

२०७२ साल अघि नै मैले गाउँ घरमा अम्रिसो लगाएर त्यसको कुचो बनाएर मार्तडी बजारमा बिक्री गरेको बडिमालिका नगरपालिका पुर्व मेगर पदम बडुवालले बताउनुभयो ।

उहाँले भननुभयो, “अम्रिसो भैसीको आहारको लागि निकै उपयुक्त देखिएकोले मैले घरको वरिपरी लगाएको हो । पात भैसीले खुवाउने र त्यसको फुल खेर जाने भएकोले मैले कुचो बनाएर मार्तडीमा बिक्री गर्न सुरु गरेको हो ।”

सहर जाँदा त्यहाँ बजारमा छ्याछ्यापपी बिक्री हुँने गरेको अम्रिसोको कुचो बाजुरामै खेती गरेर बिक्री गर्न सकिन्छ भन्ने सोच गरेको थिए । घरमा आएर अम्रिसो खेती गरेर कुचो बनाएर बिक्री गर्दा बाजुरामा पनि राम्रो कमाइ हुने गरेको बडुवालले बताउनुभयो ।

अम्रिसो स्थानीय रूपमा उपलब्ध हुने बहुवर्षीय, बहुउपयोगी घाँस हो । यो घाँस एकपटक लगाएपछि १० देखि १५ वर्षष सम्म हरियो घाँसको उत्पादन लिन सकिन्छ ।

यसको फूलको झुप्पाबाट कुचो बनाइन्छ भने स्याउला गाईबस्तुको आहाराको रूपमा प्रयोग गरिन्छ । साथै पशुले नखाने डाँठबाट उच्च कोटीको कागत बनाउन सकिन्छ ।

पहिला बाजुराका अधिकाशं घरहरु माटो र ढुङ्गाले निर्माण हुने गरेका थिए । त्यो बेला बावियोबाट बनाएको कुचो प्रयोग हुन्थ्यो ।

अहिले जिल्लाका विभिन्न गाउँ तथा सहर बजारमा पक्की घर निर्माण हुन थालेपछि पछिल्लो समय अम्रिसोको कुचोको अत्यधिक मात्रामा प्रयोग हुन थालेको हो ।

केही समय अघि तलको सहरबाट आएको कुचो प्रयोग हुन्थ्यो । अहिले बाजुराका स्थानीयले गाउँ घरमै अम्रिसो उत्पादन गरेपछि त्यसैको कुचो बजारमा बिक्री हुने गरेको छ ।

 

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्